दफा ९९
सङ्घले निरीक्षण तथा अनुगमन गर्नु पर्ने
: (१) सङ्घले आफ्ना सदस्यको काम कारबाहीको तोकिए बमोजिम निरीक्षण तथा अनुगमन गरी सो को प्रतिवेदन विभाग तथा कार्यालयलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा देहायका विवरणहरू समावेश गर्नु पर्नेछ :-
(क)  अनुगमन तथा निरीक्षण गरेको संस्था वा सङ्घको विवरण,
(ख)  संस्था वा सङ्घमा यो ऐन, यस ऐन अन्तर्गत बनेको नियम र विनियमको पालनाको अवस्था,
(ग)  सदस्यहरूले प्राप्त गरेको सेवा सुविधाको अवस्था,
(घ)  सदस्यहरूको सहभागिताको स्तर,
(ङ)  संस्था वा सङ्घको आर्थिक र वित्तीय अवस्था तथा कोषको परिचालन,
(च)  तोकिए बमोजिमका अन्य व्यवस्था ।
(३) उपदफा (२) बमोजिम सङ्घले अनुगमन गर्दा आफू मातहतका कुनै संस्था वा सङ्घको काम कारबाहीमा कुनै त्रुटि फेला परेमा त्यस्तो त्रुटि सच्याउन सम्बन्धित संस्था वा सङ्घलाई सुझाव वा निर्देशन दिन सक्नेछ र त्यस्तो सुझाव वा निर्देशनको पालना गर्नु सम्बन्धित संस्था वा सङ्घको कर्तव्य हुनेछ ।
(४) उपदफा (३) बमोजिम दिएको सुझाव वा निर्देशनको पालना नभएमा रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारी समक्ष कारबाहीको सिफारिश गर्नेछ ।
(५) उपदफा (३) बमोजिम दिएको सुझाव वा निर्देशन सम्बन्धी विषय सङ्घको वार्षिक प्रतिवेदनमा समेत उल्लेख गर्नु पर्नेछ ।